भद्रपुर, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् ।
उनले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
त्यसैगरी प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ ।
विसं २०२६ बाट चन्द्रगढी–काठमाडौँ उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए । उनका अनुसार दैनिक यहाँबाट बुद्ध एयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौँसम्मका उडान भरिरहेका छन् ।
फ्रेब्रुअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्ध एयरले बुधबार राति परीक्षण उडानसमेत गरिसकेको छ । (रासस)









प्रतिक्रिया दिनुहोस्