पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौं प्रतिकूलता भएपनि पार्टी पहिलो शक्तिकारुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
पार्टीले आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढंगले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश संगठन कमिटीलाई निर्देशित गरेको छ ।
साथै, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि आगामी साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्धरुपमा लाग्नसमेत मातहत कमिटीलाई निर्देशन दिइएको विज्ञप्तिमा उख्लेख छ । रासस





प्रतिक्रिया दिनुहोस्