भरतपुर, माघ १६ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् ।
बुधबार भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसंघभित्रको विवाद र नेतृत्वको टुंगो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन् ।
‘नेविसंघमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौं’–महामन्त्री कोइरालाले भने–‘त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौं ।’
यही महिना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसंघको विवाद टुंग्याउने उनले बताए ।
अर्को प्रसंगमा महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढंगले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए ।
उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरेपनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए ।
पार्टीको क्रियाशील सदस्यता वितरण गर्न कांग्रेस गाउँ–गाउँमा जाने महामन्त्री कोइरालाले बताए ।
चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुनेगरी कांग्रेसले काम गर्ने उनको जिकिर छ ।
‘आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस सुरु भएको छ’–उनले भने–‘पार्टी सभापतिको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।’
जिल्लाका नेता–कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए । रासस









प्रतिक्रिया दिनुहोस्