Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


प्रदेश नं २ को राजधानी जनकपुर नै, नाम मिथिला भोजपुरा राखौंः नेता निधी


0
Shares

गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को राजधानी जनकपुर र प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने बताएका छन् ।

जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनमा नेका नेता निधिले जचुकालिको भवन प्रदेश सरकारका लागि उपयुक्त रहेकाले प्रदेश नं २ को राजधानी जनकपुर नै रहने ठोकुवा गरे ।

उनले प्रदेश प्रमुखको कार्यालय र आवास, मुख्यमन्त्रीको कार्यालय र आवास, विभिन्न मन्त्रालय र मन्त्रीको आवास, सभा सम्मेलन गर्ने स्थानलगायतका पर्याप्त भौतिक संरचना रहेको जचुकालिको भवनले प्रदेश सरकारको कार्य सञ्चालनमा सहजता हुने बताए ।

साथै उनले प्रदेश नं २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।

उनले प्रदेश नं २ को राजधानी जनकपुरबाट सार्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका केही नेताले जचुकालि पुनः सञ्चालन गर्ने कुरा गरेर जचुकालिको सम्पत्ति भ्रष्टाचार गर्न तथा बेच्ने षड्यन्त्र गर्न लागिपरेको बताउँदै काङ्ग्रेसले त्यो कुनै पनि हालतमा हुन नदिने चेतावनी दिए ।

उनले त्यस्तो गर्न आउने नेकपाका नेतामाथि काङ्ग्रेसका नेता कार्यकर्तालाई पहरेदारी गर्न सुझाव पनि दिए ।