Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


शहीद दिवसमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो आयो सन्देश


0
Shares

काठमाडौं । आज माघ १६ अर्थात् शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै शहीदको सपना साकार पार्न शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले शहीदको बलिदानीले प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गरेका छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय शहीदलाई जाने भन्दै देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेकाले शहीदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् ।

उनले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्र शहीदप्रति सच्चा श्रद्धान्जलि व्यक्त गरेको ठहरिने भन्दै देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपूतप्रति साँचो अर्थमा श्रद्धाञ्जली अर्पण गर्न आह्वान गरेका छन् ।