Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


अशान्त छ दार्जिलिङः हडताल जारी, खाद्यान्न संकट सुरु


0
Shares

पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो ।

अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो । ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ ।

सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । हडतालका कारण सिंगो दार्जिलिङको जनजीवन प्रत्यक्ष प्रभावित छ ।

आन्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन् । ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको सर्वदलीय संयन्त्र गोर्खाल्यान्ड मुभमेन्ट कोओर्डिनेसन कमिटीका संयोजक कल्याण देवानले भने, ‘जनताले फिर्ता नलिएसम्म हडताल जारी रहनेछ ।’

पछिल्लो समय आन्दोलन हिंसात्मक पनि बन्यो । प्रहरी दमनमा ७ जना आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् ।

आन्दोलनकारीले सरकारी सवारी, सरकारी भवन तोडफोड र आगजनी जारी राखेका छन् । आन्दोलन चर्किएपछि बंगाल सरकारले दार्जिलिङमा अघोषित नाकाबन्दी गरेको छ ।

खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा प्रशासनले प्रत्यक्ष रूपमै बन्देज गरेको छ ।

‘बंगालले पूर्ण रूपमा नाकाबन्दी गरेको छ,’ हिमालय दर्पण दैनिकका दार्जिलिङ ब्युरो प्रमुख विमल राईले भने, ‘दार्जिलिङमा खाद्यान्न संकट सुरु भइसकेको छ ।’

आन्दोलनका कारण यहाँको पर्यटन, चियाजस्ता व्यवसाय धराशायी बनेका छन् । यातायात, स्कुल, व्यापाररव्यवसाय सम्पूर्ण ठप्प छन् । –कान्तिपुर दैनिकबाट