
काठमाडौं, माघ १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नर्सिङ पेशामा रहेकाहरुको पनि चिकित्सकको जस्तै सेवा, सुविधा र अधिकार हुनु पर्ने बताएका छन् ।
५७ औँ नर्सिङ दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले नर्सिङ क्षेत्रमा देखिएको समस्याहरु समाधान गर्दै लैजाने विश्वाससमेत व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा नर्सलाई ‘माइनस’ गरिदिने हो भने केही पनि नबच्ने उनको भनाइ थियो ।
स्वास्थ्य सेवा दिनेमा नर्सको भूमिका महत्वपूर्ण रहने भन्दै उनले स्वास्थ्य क्षेत्रको नीति निर्माण तहमा पनि उनीहरुको भूमिका रहनुपर्ने बताए ।
स्वास्थ्यमन्त्री यादवले नर्सिङ पेशाका लागि आवश्यक सुरक्षित वातावरण बनाउनु राज्यको दायित्व भएकाले नर्सहरुको भूमिकालाई स्वास्थ्य नीतिमा समेत समावेश गरिने बताए । नेपालमा हाल ८५ हजार नर्स छन् भने २५ हजार मात्र सेवामा आवद्ध छन् ।
वर्षेनी ८ हजार नर्स उत्पादन हुने गरे पनि उचित सेवा सुविधा नपाएको भन्दै विदेशिने क्रम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्