दुई तिहाइ मत नपुग्ने भएपछि सरकार संविधान संशोधनलाई प्रक्रियामा लैजानबाट राजपा पछि हटेको छ ।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपाल अहिले अनिर्णयको बन्दीजस्तै बनेको छ ।
सरकारले संशोधनबाहेक राजपाले उठाएका अन्य माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि निर्वाचनमा सहभागी हुने कि नहुने भन्नेमा राजपामा झन् अन्योल छाएको छ ।
सरकारले मधेसका आन्दोलनकारीका मुद्दा फिर्ता लिने, सख्त घाइते तथा गम्भीर अपांगता भएका व्यक्तिलाई जीवन निर्वाहको प्रबन्ध गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेको छ ।
तर, राजपा नेपाल अध्यक्षमन्डलका एकजना सदस्य अनिलकुमार झा सरकारले प्रतिबद्धता व्यवहारमा लागू गरेपछिमात्र आफूहरु त्यहीअनुसार अगाडि बढ्ने बताउँछन् ।
राजपाका ६ जना अध्यक्षमन्डलका सदस्यमध्ये संयोजक महन्थ ठाकुरलगायतका नेता संविधान संशोधन विधेयक पारित भएपनि नभएपनि परिणाम स्वीकार्ने र संशोधनबाहेकका माग पूरा भएपनि चुनावमा जान सकारात्मक देखिएका छन् ।
तर, अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव भने संशोधन पारित नभएसम्म निर्वाचनमा जान नहुने र आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् ।
तर, अध्यक्षमन्डलका एकजना सदस्य झा पार्टीभित्र कुनै विवाद नभएको जिकिर गर्छन् ।
सत्तारूढ दलले राजपासँग प्रदेश नम्बर–२ मा हुने स्थानीय तह र त्यसपछिका प्रदेश तथा केन्द्रसभा निर्वाचनमा सहभागी हुने ग्यारेन्टी खोजेका छन् ।
संसदमा विचाराधीन संविधान संशोधन विधेयक पारित नभएको अवस्थामासमेत निर्वाचनमा सहभागी हुने ग्यारेन्टी गरे निर्णयार्थ पेस गर्न तयार रहेको जनाऊ सरकारले दिइसकेको छ ।
तर, सरकारले ल्याएका प्रस्तावमा दुई धार देखिएपछि लामो समयसम्म संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेको राजपा अनिर्णयको बन्दी बनेको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।





प्रतिक्रिया दिनुहोस्