Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


माओवादी केन्द्रको बैठकमा संगठन सुधारमा जोड


0
Shares

गत सोमबारदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार धारणा राख्ने अधिकांश नेताले विगतको गल्तीबाट पाठ सिकेर आगामी दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा अनुभवको कमी, विपक्षी पार्टीद्वारा पैसाको अत्यधिक प्रयोग, त्यसलाई रोक्न सकिने सबल संयन्त्रको अभाव, उम्मेदवारी छनोट र निर्वाचन परिचालनमा देखिएको समस्यालगायत कारणले स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफललता प्राप्त गर्न नसेको उल्लेख गर्दै उनीहरुले विगतको गल्ती सुधार गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

नेताहरुले स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन पेस गर्दै आन्तरिक संगठन सुधार र निर्वाचन परिचालनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

बिहीबारको बैठकमा नेताहरु छिमीदोर्जे लामा, कुमारी मोक्तान, कृष्णध्वज खड्का, लक्ष्मण जैसी, हरिबोल गजुरेल, सुरेन्द्रकुमार कार्की, सुरेश आले, घनश्याम यादव, हिमाल किराती, खगेन्द्र सेन, राजकुमार शर्मा, हरि दाहाल, दिनेश पन्थी, महेश्वर गहतराज, तीलक शर्मा, विश्वनाथ साह, राजकाजी गुरुङ र सूर्य सुवेदीलगायत १९ जनाले स्थानीय निर्वाचनको सम्बन्धमा आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रवक्ता भुसालकाअनुसार चुनावी समीक्षा गर्दै नेताहरुले संगठन पुनःसंरचनामा जोड दिइने र आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरुले जवाफ दिने कार्यसूची छ । रासस