Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


बागी उम्मेदवारी दिने ९ एमाले नेता कारवाहीमा


0
Shares

आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएर हराउनमा भूमिका खेलेको भन्दै एमाले जिल्ला सचिवालय कमिटिको चौथो पूर्ण बैठकले ९ जना नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको हो ।

स्थानीय तहको निर्वाचनमा केपीलासगढी गाउँपालिकामा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकोमा एमालेले स्वतन्त्र उम्मेदवार हरिचन्द्र राई, जन्तेढुंगा गाउँपालिकामा गाउँपालिका उपप्रमुखको उम्मेदवारी दिएकी सरिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–५ मा वडा सदस्यको उम्मेदवारी दिएका अञ्चलकुमार राई, रुपापोट–मझुवागढी नगरपालिका–९ मा वडा अध्यक्षको उम्मेदवारी दिएका भाकप्रसाद लुईटेल, रुपाकोट–मझुवागढी नगरपालिका–४ मा वडा अध्यक्षको उम्मेदवारी दिएका नन्दप्रसाद घिमिरे लगायतलाई कारवाहीका लागि सिफारिस गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष बबि चाम्लिङले बताए ।

चाम्लिङका अनुसार एमालेले गाउँपालिकाको प्रमुख र उपप्रमुखमा बागी उम्मेदवार दिएका नेतालाई कारबाहीका लागि प्रदेश कमिटी समक्ष तथा वडाध्यक्ष र सदस्यमा बागी उम्मेदवारी दिएका उम्मेदवारलाई कारबाहीका लागि जिल्ला कमिटी समक्ष सिफारिस गरेको हो ।

‘उनीहरुलाई पाँच वर्ष पार्टी सदस्य समेत नरहने गरी सबै जिम्मेवारीबाट मुक्त गरी निस्कासीत गरिएको छ,’ अध्यक्ष चामलिङले भने, ‘पाँच वर्षपछि आफ्नो कमजोरीलाई महसुस गरेर पार्टीको सदस्यता प्राप्त गर्नको लागि निवेदन दिएमा पुनःविचार गर्न सकिने छ ।’

केपीलासगढी गाउँपालिकामा बागी उम्मेदवारी परे पनि एमालेकै उम्मेदवार कृष्णकुमार राई गाउँपालिका प्रमुखमा विजयी भएका थिए ।

यस्तै, जन्तेढुंगा गाउँपालिकामा उपाध्यक्षमा बागी परे पनि एमालेको आधिकारिक उम्मेदवार विमला राई विजयी भएकी थिइन् । स्थानीय तहको निर्वाचनपछि एमालेले निर्वाचन परिणामको समिक्षा गर्दै कारबाही गर्नुपर्ने कार्यकर्ताको टुंगो लगाएको हो ।

एमालेले कारबाहीका लागि सिफारिसमा परेका अन्य ४ जना नेता तथा कार्यकर्ताको भने नाम सार्वजनिक गरेको छैन ।