Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


संसदको भविष्य नै नरहने चेतावनी (भिडियो)


0
Shares

अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)

काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट पारित चिकित्सा शिक्षा विधेयक सोमबार राष्ट्रियसभामा पेस भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध र नाजाबाजीबीच विधेयक राष्ट्रियसभामा पेस भएको हो ।

कांग्रेसका सांसदहरुको अवरोधका कारण बैठक दुईपटक स्थगित भएको थियो ।

तेस्रोपटक बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरुको वेल घेराउकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ‘चिकित्सा शिक्षा विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न समय दिए ।

सभाध्यक्षले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्नका लागि सांसदलाई नाम टिपाउन आग्रह गरेपनि कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका कारण कुनैपनि सांसदले छलफलमा भाग लिन सकेनन् । त्यसपछि राष्ट्रियसभाका सभाध्यक्षले विधेयक निर्णयार्थ प्रस्तुत् गरे ।

प्रस्तावको विपक्षमा मत नपरेपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभाध्यक्षले सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

बैठकमा शिक्षामन्त्रीको विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै अब सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गराउनका लागि ७२ घन्टाको समय दिइएको छ ।

अब राष्ट्रियसभाका सदस्यहरुले चिकित्सा शिक्षा विधेयकमाथि संशोधन हाल्नसक्ने छन् ।

तर, राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले आफूहरुको तर्फबाट कुनै संशोधन नहाल्ने बताए ।

पहिलो बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षी दलका सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए ।

सांसदले पाण्डेले आफ्ना मागहरुबारे सरकारले ठोस निर्णय गरेर नआएसम्म बैठक चल्न नसक्ने जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

दोस्रो बैठक सुरु भएसँगै कांग्रेसका सांसदले अभिएर विरोध गरेपछि विरोधकैबीच अध्यक्ष तिमिल्सिनाको आदेशानुसार राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय चिकित्सा विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जानकारीसहित ‘टेबुल’ गरेका थिए ।

त्यसपछि भने कांग्रेसका सांसदहरु रोष्ट्रमअगाडि पुगेर नाराबाजी गर्न सुरु गरेका थिए ।

बैठकपछि प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सरकारको रवैया कायम रहे संसदको भविष्य नै नरहने चेतावनी दिए ।

तर, सत्तारुढ दलका मुख्य सचेतक खिमलाल भट्टराईले प्रतिपक्षी दलले विरोधकै लागि विरोध गरेर जनतामाझ नांगिने काम गरेको टिप्पणी गरे ।

नेपाली कांग्रेसले भने आफूहरुले राखेका मागहरुबारे सरकारले ठोस निर्णय नगरेसम्म संसद अवरोध जारी राख्ने चेतावनी दिएको छ ।

राष्ट्रियसभाको आगामी बैठक यही माघ १७ गते दिउँसो २ बजे बोलाइएको छ ।

भिडियो हेर्नुहोस्