Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सरकारलाई जवाफ दिन निर्देश


0
Shares

काठमाडौं, माघ १४ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालका नाममा स्थापित अस्पतालकाबारेमा सदनमा नेपाली कांग्रेसले उठान गरेको चासो र चिन्ताका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको दोस्रो बैठकमा उनले सो निर्देश गरेका हुन् ।

नेपाली कांग्रेसले आफ्ना शीर्ष नेता स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकायअन्तर्गत् सन्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

सोमबारको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृतसमेत गरेको थियो ।

बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमतिमा नै आएको सन्चारकर्मीलाई बताए ।

उनले एउटा विश्वविद्यालयले पाँचओटाभन्दा बढी चिकित्साशास्त्र अध्ययनका अनुमति दिइसकेको अवस्था रहेको चर्चा गर्दै ‘आगामी दिनमा यसलाई विधेयकले व्यवस्थित गर्नेछ’–भने ।

नेपाली कांग्रेसका सांसद सुरेन्द्र पाण्डेले आफ्नो पार्टीका सांसदले सदनमा उठान गरेका विषयवस्तुमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । रासस