Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


राष्ट्रियसभा : चारवटा विषय कार्यसूचीबाट हटाइए, आधा घण्टाका लागि फेरि बैठक स्थगित


0
Shares

काठमाडौं, माघ १४ । राष्ट्रियसभा अध्यक्ष गणेशराज तिमिल्सिनाले सोमबार राष्ट्रियसभा बैठकको कार्यसूचीबाट चारवटा विषय हटाएका छन् ।

राष्ट्रियसभाको सोमबार बसेको दोस्रो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको अवरोधका बीच अध्यक्ष तिमिल्सिनाले बैठक अघि बढाउँदै राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई सभासमक्ष टेबल गर्न अनुमति दिएका थिए ।

अध्यक्ष तिमिल्सिनाले बैठकको प्रकृया अघि बढाएसँगै कांग्रेस सांसदहरु बेलमा आएर घेराबन्दी गरेका थिए । उनीहरुले बैठकमा नारावाजीसमेत गरे ।

लगत्तै अध्यक्ष तिमिल्सिनाले सोमबारको बैठकको कार्यसूचीको संख्या २ देखि ५ सम्मको विषय हटाइएको जानकारी गराए ।

कार्यसूचीको बुँदा नम्बर २ मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७५माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यक्रम थियो ।

त्यस्तै कार्यसूचीको बुँदा ३ मा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तिभरण कोष विधेयक २०७५ माथि विचार गरियोस्’, ‘भुक्तानी फर्स्यौट विधेयक २०७५ माथि विचार गरियोस्’ र नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यक्रम थियो ।

यस्तै बुँदा ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र बुँदा ५ मा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम थियो ।

चारवटा बुँदा कार्यसूचीबाट हटाएर आधा घण्टाका लागि स्थगित बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमात्र राखिएको छ ।

राष्ट्रियसभाको सोमबारै बस्ने तेस्रो बैठकमा सो कार्यसूची अघि बढाइने भएको छ ।