काठमाडौं, माघ १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण राष्ट्रियसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सोमबार ११ बजे सुरु भएको बैठक कांग्रेस सांसदको अवरोधका कारण स्थगित भएको हो ।
बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । आफ्ना पार्टीका नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई सरकारले संघअन्तर्गत रहनेगरी गठनादेश नगरेको भन्दै कांग्रेसले विरोध जनाएको हो । त्यस्तै, डा. गोविन्द केसीसँगको पूर्वसहमति अनुसार चिकित्सा शिक्षा विधेयक नल्याइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले पार्टीका पूर्व सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना गर्ने भनिएका दुई अस्पतालकाबारे मन्त्रिपरिषदबाटै गठनादेशसम्बन्धी निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।









प्रतिक्रिया दिनुहोस्