कमलाले ५८ केजी तौल समूहको जुनियर विधामा स्न्याचमा ६७ तथा क्लिन एन्ड जर्कमा ८५ गरी १५२ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।
उनले सातौं राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ र क्लिनमा ७९ गरी १४५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । कमला समूह ‘बी’बाट ८ खेलाडीलार्ई पछि पार्दै पहिलो हुन सफल भएकी थिइन् ।
यस्तै, सन्जुले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । उनले समूह ‘बी’को ५३ केजी तौलमा स्न्याचमा ६० तथा क्लिन एन्ड जर्कमा ८० गरी १४० केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाउन सफल भइन् ।
उनले देवी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमानलाई भंग गर्दै राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् ।
मंगलबार भएको खेलमा अरु नेपाली खेलाडीहरुले आफ्नो खेलमा सुधार गर्न सफल भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी दिएका छन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका टीकामाया गुरुङले ५८ केजी तौलमा स्नाचमा ४५ र क्लिन एन्ड जर्कमा ५५ गरी १०० केजी र कविता चौधरीले स्नाचमा ४१ र क्लिन एन्ड जर्कमा ५० गरी ९१ केजी भार बहन गरे ।
यस्तै, पुरुषको ६२ केजी तौलमा साजारुद्घिन आलमले स्नाचमा ५५ र क्लिन एन्ड जर्कमा ८० गरी १३५ केजी भार बहन गरे ।





प्रतिक्रिया दिनुहोस्