Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


नवाज सरीफ प्रधानमन्त्रीकारूपमा रहन अयोग्य ठहर, तत्काल कार्यालय छोड्न निर्देशन


0
Shares

उनलाई भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षाअनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ ।

न्यायाधीश एजाज अफताल खानले अदालतमा जम्मा भीडकाबीच भने–‘उहाँ संसदको सदस्यकारूपमा रहिरहन अयोग्य बन्नुभएको छ । त्यसैले उहाँले प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन ।’

अदालतले राष्ट्रिय भ्रष्टाचारविरुद्धको विभागलाई आरोपबारे सरीफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री सरीफलाई गत वर्ष पनामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको संलग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको छ ।

पाकिस्तानमा अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले पाँच वर्षे पूर्ण कार्यकाल सम्पन्न गर्न सकेका छैनन् ।

धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पूरा हुनुपूर्व नै शक्तिशाली सेना वा अदालतको हस्तक्षेपमा बाहिरिएको पाकिस्तानी इतिहास छ । अन्य केहीको आफ्नै दलद्वारा हटाइएका छन् । राजीनामा दिन दबाब दिइएको छ वा कसैद्वारा हत्या गरिएको छ ।

पाकिस्तानको ७० वर्षको इतिहासमा सरीफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो बहालवाला प्रधानमन्त्री भएका छन् ।

अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन बहालवाला राष्ट्रपति असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचार आरोप चलाउन नमानी अदालतको मानहानि गरेको आरोपमा अयोग्य घोषणा गरेको थियो । रासस/एएफपी