Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अन्तर्राष्ट्रिय बाघ संरक्षण दिवस मनाईंदै, नेपालमा बाघको संख्या बढ्ने क्रममा


0
Shares

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

सम्मेलनले सन २०२० सम्ममा विश्वमा बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्य निर्धारण गरेको थियो । विश्वमा अहिले झन्डै साढे तीन हजारको हाराहारीमा बाघ रहेका छन् ।

नेपालमा पछिल्लो समय बाघको संख्या केही बढ्दै गएको छ ।

संरक्षण अभियान, बासस्थान तथा आहाराको व्यवस्थापन लगायत कारण नेपालमा बाघको संख्या बढ्दै गएको हो ।

चार वर्षअघि सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो ।

नेपालमा हरेक चार वर्षमा बाघ गणना यो वर्ष गर्ने तयारी रहेको वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालमा सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पुर्‍याउने लक्ष्यअनुसार संरक्षणको काम भइरहेको सरकारले जनाएको छ ।

विश्वका १३ वटा देशमा बाघ संरक्षणका काम भइरहेका छन् । दक्षिण एसियाका नेपाल, भारत, भुटान, बंगलादेश र चीनमा बाघ पाइन्छ ।