Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सरकार इतिहास मेटाउन सक्रिय : पौडेल


0
Shares

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार इतिहास मेटाउन सक्रिय रहेको बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको ‘जीपी कोइराला फाउन्डेसन ललितपुर शाखाको उद्घाटन तथा फोटो प्रदर्शन’ कार्यक्रममा उनले ‘देशमा परिवर्तन ल्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको ठूलो भूमिका रहेको तर उहाँहरुकै इतिहास मेटाउन सरकार लागेको छ । यसकाविरुद्ध कांग्रेस आन्दोलनमा उत्रन्छ’–भने ।

नेता पौडेलले जहाज खरिद, एनसेल करछलीलगायत विकास निर्माणमा भएका भ्रष्टाचारमा वर्तमान सरकारको संलग्नता रहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने बताए ।

जीपी कोइराला फाउन्डेसनकी अध्यक्ष एवं कांग्रेस नेत्री सुजाता कोइरालाले मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई कसैले सिध्याउन नसक्ने बताइन् ।

‘देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउनेहरु एकजुट हुनुपर्छ । अर्कोलाई सक्छु भन्नेहरु आफैं सकिनेछन्’–उनले भनिन् ।

कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले अर्थतन्त्रलाई बर्बादीतर्फ धकेलेको आरोप लगाए ।

‘देशमा राजश्व संकलनदेखि विकासको गति सुस्त रहेको छ । यो देशका लागि खतरा हो’–उनले भने ।

जीपी कोइराला फाउन्डेसन ललितपुर जिल्ला संयोजक जीतेन्द्र श्रेष्ठ, राष्ट्रियसभाकी सांसद धना खतिवडा, जीपी कोइराला फाउन्डेसन प्रदेश–३ संयोजक रीता खनाल, पूर्वसांसद रामकृष्ण चित्रकारलगायतले कांग्रेसले जिम्मेवार र सशक्त प्रतिपक्षकारुपमा देशलाई संकटबाट बचाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी गरिएको थियो । रासस