Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


दिसामुक्त क्षेत्र वीरगन्जमा शौचालयको अभाव, यात्रु सकसमा


0
Shares

एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ ।

साविक गाविसमध्ये ३४ वटा गाविसलाई दिसामुक्त क्षेत्र घोषणा गरिएपनि सो गाविसमा पूर्वाधारको अभावका कारण यात्रु खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य भएका हुन् ।

वीरगञ्ज महानगरपालिकाभित्र २९ हजार पाँच सय घरधुरी रहेपनि २८ हजार दुई सय २४ घरमा मात्र शौचालय छ ।

नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय छ तर ती शौचालय पर्याप्त नभएको बताइएको छ ।

नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका इन्जिनियर सुनिलकुमार कर्णले शौचालय भएको घरमा सरसफाइ कार्ड दिने गरेको बताउँछन्।

सो कार्ड प्राप्त गर्ने घरधुरीलाई बिजुली बत्ती, खानेपानीलगायतका सुविधा दिँदै आएको छ भने कार्ड नभएका व्यक्तिलाई सो सुविधा कटौती गरिएको इन्जिनियर कर्णको भनाइ छ ।

वीरगञ्जमा रहेका शौचालयमध्ये रु ४२ लाख ५० हजारको लागतमा निर्माण भएको घण्टाघरको शौचालयले प्रतिमहिना रु एक लाख आठ हजार राजस्व नगरपालिकालाई शुल्क बुझाउँदै आएको छ ।

महानगरपालिकाले सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको नेपाली सीमाक्षेत्रमा पाँचवटा शौचालय निर्माण गर्ने भएको छ भने यसै आवमा नगर क्षेत्रमा थप शौचालय निर्माणका लागि बजेटसमेत छुट्याएको महानगरका सरसफाई संयोजक स्नेहा श्रेष्ठले बताए । रासस

Skip This