Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिकाले गरेको हस्तक्षेपको नेकपा भर्त्सना गर्दछ’


0
Shares

काठमाडौं, माघ ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई भेनेजुयलाका सम्बन्धमा अहस्तक्षेप, राष्ट्रिय सार्वभौमसत्ता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई सम्मान गर्न आग्रह गरेका छन् ।

दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाको पछिल्लो राजनीतिक अवस्थाकाबारेमा पार्टीका तर्फबाट शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले सो मुलुकको सार्वभौमसत्ता, अखन्डता र शान्तिको पक्षमा उभिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

प्रजातान्त्रिक निर्वाचन प्रक्रियामार्फत् चुनिएका वैधानिक राष्ट्रपति निकोलस माडुरोलाई मान्यता नदिइ आफूलाई राष्ट्रपति घोषणा गरेका हुवान गुवाइदोलाई अन्तर्राष्ट्रियरुपमा वैधानिकता दिएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन् ।

‘भेनेजुयलाका जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिइ हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको नेकपा भर्त्सना गर्दछ’–अध्यक्ष दाहालको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष दाहालले भेनेजुयलामाथिको पछिल्लो व्यवहार संयुक्त राष्ट्रसंघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती भएको स्पस्ट पारेका छन् । रासस