Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


त्यसपछि मन्त्री पोखरेलले जितको शैलीमा हात हल्लाए… (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)

काठमाडौं, माघ ११ । जसरीपनि चिकित्सा शिक्षा विधेयक पारित गराउने सरकारको तयारी र विधेयकलाई कसैगरी रोक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको रणनीतिका कारण शुक्रबारको प्रतिनिधिसभाको बैठकमा तनाव उत्पन्न हुने अनुमान धेरैको थियो ।

बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित त भयो तर त्यसक्रममा देखिएका दृष्यहरु भने त्यति स्वाभाविक थिएनन् ।

अन्य दिनको तुलनामा शुक्रबार प्रतिनिधिसभामा दोब्बरभन्दा बढी मर्यादापालकहरु तैनाथ थिए ।

त्यसमा पनि सभामुखको अगाडि १०० को संख्यामा मर्यादापालकहरु तैनाथ थिए भने दुई दर्जन बढी मर्यादापालक मन्त्रीहरु बस्ने लाइनअगाडि उभिएका थिए ।

कांग्रेस सांसदहरुको नाराबाजीकाबीच सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेस गर्न अनुमति दिएका थिए ।

मन्त्री पोखरेल आफ्नो सिटबाट उठ्न नपाउँदै मर्यादापालकहरुले नाराबाजी गरिरहेका कांगे्रस सांसदहरुलाई चारैतिरबाट घेरा हालिसकेका थिए ।

मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई घेरा हाले पनि शिक्षामन्त्री पोखरेल नियमित बाटोबाट रोष्ट्रममा जान सकेनन् । मन्त्री पोखेरल अगाडि बढ्न खोज्दा कांग्रेस सांसदहरुले अवरोध गरेका थिए ।

नियमिति बाटोबाट अघि बढ्न नसकेपछि मन्त्री पोखरेल सत्तापक्षका सांसदहरु बसेको कुर्सीको लाइनबाटै रोष्ट्रमतिर अघि बढे ।

कुर्सीहरुको लाइनबाट बाहिर निस्किएका मन्त्री पोखरेललाई मर्यादापालकहरुले पाखुरामा समातेर अघि बढाएका थिए ।

मर्यादापालकहरुको सहायतमा रोष्ट्रममा पुग्ने खुड्किलाहरु चढिसकेपछि भने मन्त्री पोखरेलले जितको शैलीमा हात हल्लाएका थिए । रोष्ट्रममा उभिएर विधेयक पढ्न चश्मा लगाउनुअघि कांग्रेस सांसदहरुतर्फ हेरेर मुस्कुराएका थिए ।

सामान्यतः विधेयक पेस भएपछि विधेयक पेस गर्ने मन्त्री आफ्नो सिटमा फर्कने र विधेयकमाथि पक्ष–विपक्षबाट धारणा राख्ने चलन भएपनि चिकित्सा शिक्षा विधेयकमाथि न कसैले धारणा राखे न त मन्त्री नै सिटमा फर्किए ।

विधेयक पारित गर्ने प्रक्रिया चलिरहँदा शिक्षामन्त्री पोखरेल भने रोष्ट्रमभन्दा अलि पर मर्यादापालकहरुको पछाडि उभिइरहे ।

भिडियो हेर्नुहोस्