Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


हिलाम्मे सडकमा हिँडे प्रधानमन्त्री, आफ्नै आँखाले पहिरो खसेको देखेपछि…(भिडियो)


0
Shares

केही मन्त्री र सांसदहरु लिएर चितवन पुगेका प्रधानमन्त्री देउवाले निरीक्षणपछि सडक निर्माणकार्यलाई तीव्ररुपमा अघि बढाउन निर्देशन दिए ।

नारायणगढ–मुग्लिन सडकखन्ड विस्तारको काम सुरु भएको दुई वर्ष बढी भयो । तर, विस्तारको काम भने कछुवाको गतिमा भइरहँदा यस सडकखन्ड भएर हिँड्ने यात्रीहरु वर्षेनि सास्ती भोगिरहेका छन् ।

पछिल्लो समय यात्रीहरु पहिरोमा परेर ज्यानै गुमाउने घटना दोहोरिन थालेपछि सरकारको व्यापक आलोचना भइरहेको छ । जसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं मुग्लिन सडकखन्ड पुगेर सडक विस्तारबारे जानकारी लिए ।

हेलिकोप्टरबाट चितवन पुगेका प्रधानमन्त्री देउवा करिब १०० मिटर हिलाम्मे सडकमा पैदल हिँडे ।

सेतीदोभान भन्ने स्थानमा पहिरो खसेको दृश्य देखेपछि प्रधानमन्त्री देउवाले २४सै घन्टा सहज यात्रा हुनेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले निर्देशन दिइरहँदा निर्माण कम्पनीहरु भने सरकारलाई नै दोष दिइरहेका थिए । सडकमा काम गर्ने पर्याप्त समय नहुँदा समयमै काम सम्पन्न गर्न नसकिएको उनीहरुको तर्क थियो ।

नारायणगढ–मुग्लिन सडकखन्ड आयोजको दोस्रो भागको निर्माण गरिरहेको लामा कन्स्ट्रक्सन कम्पनीका निर्देशक पिताम्बर बडूले सरकारले दिउँसोको समयमा ८ घन्टा निर्माणका लागि समय दिएमा समयमै निर्माण पूरा हुने दाबी गरे ।

प्रधानमन्त्री देउवासँगै सडक निरीक्षणमा गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले निर्माण कम्पनीहरुले काम द्रुतगतिमा नगर्ने र समयमात्र थप्ने गरेको भन्दै अब त्यस्तो गर्न नदिइने बताए ।

यो सडकखन्डको विस्तारको काम गत पुसमै सकिनुपर्ने थियो । तर, निर्माण कम्पनीहरुले थप समय मागेपछि सरकारले सन् २०१८ को फेब्रुअरीसम्मको समय दिएको छ ।

हालसम्म ५३ प्रतिशतमात्रै काम सकिएकोले सडक विस्तारको काम फेरि पनि निर्धारित् समयमा सम्पन्न हुने सम्भावना क्षीण देखिन्छ ।

भिडियो हेर्नुहोस्