Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस सरकार र सभामुखप्रति आक्रामक, सदन र सडकबाट विरोध गर्ने चेतावनी


0
Shares

काठमाडौं, माघ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि कांग्रेस सरकार र सभामुखप्रति आक्रामक बनेको छ ।

विरोधकाबीच विधेयक पारित गरेपछि कांग्रेसले सरकार र सभामुख कृष्णबहादुर महराप्रति कडा टिप्पणी गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठक सकिएलगत्तै सन्चारकर्मीहरुसित प्रतिक्रिया दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरेको आरोप लगाए ।

सरकारको अधिनायकवादी सोचमा सभामुखले पनि साथ दिएको उनको आरोप थियो ।

सभापति देउवाले सरकारी रवैयाप्रति सदन र सडकबाट विरोध गर्ने चेतावनी दिए ।

सभामुखले जालझेलको राजनीति गरेको आरोप

यस्तै, कांग्रेसका नेता गगन थापाले आजको घटना सरकार र सभामुखलाई महँगो पर्ने चेतावनी दिएका छन् ।

उनले सरकारले निषेधको राजनीति सुरु गरेको भन्दै यो घटनाले सरकारले आफूसँग फरक मत राख्नेहरुलाई चिन्दैन भन्ने सन्देश दिएको दाबी गरे । आजबाट निषेधको राजनीति प्रारम्भ भएको उनको निष्कर्ष थियो ।

नेता थापाले सभामुख कृष्णबहादुर महराले जालझेलको राजनीति गरेको आरोप पनि लगाएका छन् ।

प्रतिनिधिसभा बैठकअघि भएको छलफलमा सभामुख महराले सहमति नभए बैठक नै अगाडि नबढाउने र मुठभेड नगर्ने बताएपनि विधेयक पास गराएर जालझेलपूर्ण व्यवहार गरेको उनले आरोप लगाए ।

उनले सडक र सदनबाट लडाइँ सुरु गर्ने चेतावनी पनि दिए ।

सरकार डा. गोविन्द केसीको जीवन लुट्न तयार देखिएको भन्दै नेता थापाले सरकारलाई व्यापारीले चलाएको आरोप पनि लगाए ।