Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


प्रबुद्ध समूहको निष्कर्षले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास


0
Shares

काठमाडौं, माघ ११ । परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताएका छन् ।

भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा परराष्ट्रविद् थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलबीचको सहमतिबाट गठन भएको प्रबुद्ध समूहको निष्कर्षले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एकार्कासँग प्रगाढ सम्बन्ध राख्नु दुवै देशको जिम्मेवारी रहेको बताए ।

आर्थिक दृष्टिले सम्पन्न बन्दै गइरहेको छिमेकी राष्ट्र भारतबाट नेपालले लाभ लिनसक्ने वातावरणलाई सरकारले गम्भीरताका साथ खोजी गर्नुपर्ने उनको सुझाव थियो ।

यसैगरी, नेपाली कांग्रेसका नेता डा. रामशरशण महतले आगामी दिनमा नेपाललाई समृद्ध राष्ट्र बनाउन लगानीको वातावरण तयार पार्दै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजपा नेपालका अध्यक्षमन्डलका सदस्य अनिल झाले मधेसवादी दललाई सहभागी नगराइ प्रबुद्ध समूह गठन गरिएकोमा आपत्ति प्रकट गरे ।

उनले मधेससँगको संलग्नताविना नेपाल–भारत प्रबुद्ध वर्गको समूहले गरेको कुनैपनि निर्णय स्वीकार्य नहुने चेतावनी दिए ।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले दुई देशबीचको सम्बन्ध सदियौंदेखि प्रगाढ रहेको भन्दै भारतले नेपालमा निकट भविष्यमै बृहत् फेस्टिभलको आयोजना गर्न लागेको जानकारी दिए ।