Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा पहिरोले सडक बगायो


0
Shares

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उनले बताए ।

सडकका अन्य ठाउँको पहिरो पन्छाउँदै गर्दा बगेको सडक मर्मत गरिसक्ने गरी काम थालिएको छ । सो सडकका १० ठाउँमा ठूला पहिरा खसेका छन् भने ठाउँठाउँमा साना पहिरा झरिरहेपछि सडक अवरुद्ध बनेको छ ।

बुधबार साँझदेखि अवरुद्ध बनेको सडकको संवेदनशील क्षेत्रका बीचमा फसेका गाडी बिहीबार साँझ सडक एकतर्फी खोलेर गन्तव्यतर्फ पठाइएको थियो ।

आज बिहानदेखि दुईतर्फी सडक सञ्चालनका लागि काम भइरहेको खनालले बताए । दिउँसोसम्म सडक सञ्चालनका लागि दमौलीबाट एउटा लोडरसमेत झिकाइएको छ । ती ठाउँका पहिरो पन्छाउन मुग्लिनतर्फ तीन लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सीमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनालका अनुसार १० ठाउँमा ठूला पहिरो खसेका हुन् । अन्य भित्तो काटिएका ठाउँमा साना पहिरो खसेका छन् । मुग्लिनदेखि गाईघाटसम्मको १७ किलोमिटर क्षेत्रमा पहिरो खसेको हो । मुग्लिन नजिकै एउटा ठूलो पहिरो खसेको छ ।

त्यसैगरी, मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ चेपाङडाँडादेखि कालीखोलासम्मको पाँच सय मिटरमा तीनवटा ठूला पहिरो खसेको खनालले बताए ।

यसैगरी, मुग्लिनबाट ३.५ किमी टोपीखोला, चार किलो भन्ने ठाउँ, ४.५ किमी चोरखोला, सात किलो जलवीरे, नौ किलो भालुढुंगा र १४ किलो केराबारीमा एक–एकवटा ठूला पहिरो खसेको उनले बताए ।

तीन दिनदेखि सडक अवरुद्ध भएपछि यात्रु सडकमा अलपत्र परेका छन् । रासस