Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


अवरुद्ध महाकाली राजमार्ग पुनः सन्चालनमा


0
Shares

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखन्डअन्तर्गत् पर्ने डिलाशैनी–६ बांगाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा, प्रहरी र डोजरको सहायताले पन्छाएपछि पुनः सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो ।

सडक सन्चालन भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्री अलपत्र परेका थिए ।

वि.सं. २०६० सालमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

सोहीबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । पहिरोका कारण स्थानीय बासिन्दासमेत त्रसित छन् ।

वि.सं. २०६० देखि प्रत्येक वर्ष पहिरोले घरखेत बगाउन थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

०६० मा ६ परिवार पहिरोका कारण पूर्णरुपमा विस्थापित भएका थिए भने पछिल्लो समयमा थप सात परिवार पनि पहिराका कारण विस्थापित भएका छन् । पहिरोले अहिलेसम्म १५० रोपनी जमिनलाई बगरमा परिणत गरिसकेको छ ।

वर्षात्सँगै पहिरो खस्न थालेपछि बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीयवासी धनीराम सार्कीले बताए ।

पहिरोको छेउमै टहरा हालेर बसेका दलित समुदायका सात परिवारलाई अहिले निकै चिन्तित बनाएको उनले बताए ।

ओत लाग्न आफूहरुसँग जमिन नभएकाले पहिराको छेउमै टहरा हालेर बस्न बाध्य भएका उनले बताए । दुवैतर्फ गरेर अहिले ३० भन्दा बढी परिवार पहिरोको जोखिममा रहेका स्थानीयवासी तेजबहादुर साउदले बताए ।

उता, पहिरोका कारण गोकुलेश्वर–गन्ना सडक भने अवरुद्ध भएको छ । सो सडकखन्डअन्तर्गत् रुद्रेश्वरको बगडीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरो खस्नेक्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस