Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नारायणगढ–मुग्लिन सडक तीन दिनपछि सन्चालनमा


0
Shares

उक्त सडकखन्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सन्चालनमा आएको हो ।

बिहीबार राति सडक बगाएको भालुढुंगामा भने एकतर्फी सन्चालनमा आएको खनालले बताए । साँझसम्ममा सो ठाउँमा पनि दुईतर्फी सवारी सन्चालनमा आउने उनले बताए ।

आयोजनाका इन्जिनियर खनालकाअनुसार नारायणगढबाट २७ किमिको दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको थियो ।

सो ठाउँमा तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम भइरहेको उनले बताए ।

सडकमा पहिरो पन्छाउन मुग्लिनतर्फ चार लोडर र दुई एक्साभेटर प्रयोग गरिएको थियो भने सिमलतालदेखि गाईघाटसम्म दुई लोडर र एक एक्साभेटरले पहिरो पन्छाइरहेका थिए ।

तीन दिनदेखि सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्री सडक सन्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

सडकका संवेदनशील क्षेत्रमा पहिरोका बीचमा रहेका १२५ ओटा सवारी–साधनलाई बिहीबार साँझ एकतर्फी सडक खोलेर गन्तव्यतर्फ पठाइएको थियो । रासस