पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातोबत्ती बालिएको छ ।
सोमबारदेखि पहाडी जिल्लाहरुमा वर्षात् जारी रहँदा सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो ।
नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रात्तो बत्ती बालिएको सुनसरीका निमित प्रहरी प्रमुख डीएसपी प्रविण धितालले बताए ।
मंगलबार अपराह्न १२ बजे सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ९२ हजार ३०० क्युसेक पुगेको धितालले जानकारी दिए । सोमबार राति पानीको बहाव प्रतिसेकेन्ड २ लाख ११ हजार ५६० क्युसेक पुगेको थियो ।
कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि खतराको संकेत रातोबत्ती बाल्ने गरिन्छ ।
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका ५६ ढोकामध्ये अहिले २५ ओटामात्र ढोका खोलिएका छन् ।
सप्तकोसीमा पानीको बहाव बढेपछि खतरा उत्पन्न भएको भन्दै सप्तकोसी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली उद्धारका लागि तयारी अवस्थामा परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए ।










प्रतिक्रिया दिनुहोस्