Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भक्तपुरमा गाईजात्राः प्रमुख आकर्षण घिन्ताङघिसी नाच (भिडियो रिपोर्ट)


0
Shares

भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउँछन् । उनीहरु मंगलबार (आज)देखि ८ दिनसम्म यो पर्व मनाउँछन् ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । यो नाच जोडी–जोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

भक्तपुरमा ८ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईकोरुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात् चारओटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गरिन्छ ।

घिन्ताङघिसीको साथै हनुमान नाच, बाँदर नाच, ख्या त्याखलगायत देवीदेवताका नाच यहाँको अर्को विशेषता हो ।

मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ ।

गाई वा ताहामचा बनाइ नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्यदान गर्दछन् ।

गाईजात्राको अवसरमा तलेजु स्थानबाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा बनाइ नगर परिक्रमा गराइन्छ ।

त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतीक ताहामचा बनाइ नगर परिक्रमा गरिन्छ ।

देशका विभिन्न स्थानमा यो पर्व मनाउने चलन रहे पनि भक्तपुरमा मनाइने गाईजात्रालाई भने विशेषरुपमा हेरिँदै आएको छ ।

पछिल्लो समय गाईजात्रालाई मनोरन्जनको रुपमासमेत लिइँदै आएको छ ।

भिडियो हेर्नुहोस्