काठमाडौं, माघ १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईप्रति ट्वीटर प्रयोगकर्ताले आक्रोस व्यक्त गरेका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा भट्टराईले संसदमा प्रतिपक्षी दलको अवरोधका कारण मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुने दावी गरेका थिए । उनका तिनै भनाइलाई समाचार बनाएको एउटा अनलाइन पोर्टलको ‘लिंक’ शेयर गरेपछि ‘ट्वीटे’हरुले भट्टराईप्रति आक्रोस व्यक्त गरेका हुन् ।
भट्टराईको ट्वीटमा पाँच दर्जनभन्दा बढी कमेन्ट गरिएको छ । तीमध्ये अधिकांशमा उनका भनाइप्रति कडा आपत्तिसहित आलोचना गरिएको छ ।
द्रोण मरासिनीले भट्टराईको ट्वीटमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ओहो अर्को व्यवस्था आएर क्यारे, आसे नेताको धम्की पो आयो त ।’
श्रीकृष्ण विश्वकर्मा लेख्छन्, ‘अर्को चुनावाँ ठहरै हुनुहोला है भट्टराईज्यू, अलि विचार पु¥याउनु होला बोल्दाखेरी… अझै पनि भन्छु, एकदमै उत्कृष्ट र आशा गरिएका युवा नेता हुनुहुन्छ हजुर… हनुमान बनिराख्नु जरुरी छैन ।’
karki_sathi हेन्डलबाट लेखिएको छ, ‘योगेश भट्टराईज्यू कम्तीमा प्रधानमन्त्री देख्ने रहर थियो, तर आजभोलिको गतिविधि हेर्दा त लेकतिर धमिलो पानीमाथि जमेको ठाटाजस्तो लाग्छ ।’
नरेन्द्र पौडेल लेख्छन्, ‘त्यसो गर्नुभन्दा विधेयक नै पेश नगरेर पास भएको घोषणा गरिदिनुस् माननीयज्यू । आखिर दुई तिहाई छँदैछ क्यारे ! दुःख लाग्छ जब समस्याको समाधानतिर लाग्नुपर्ने तपाईहरुजस्ता मान्छेहरु समस्या बल्झाउनतर्फ अग्रसर हुन्छन् ।’
भट्टराईलाई सुझाव दिँदै बस्नेत काजी लेख्छन्, ‘बसेको ठाउँबाट किन ? घरबाटै प्रस्तुत गर्दा अझ राम्रो हुन्थ्यो कि !’
निरन्जन खनाल लेख्छन्, ‘घरैमा बसेर स्काइपबाट सभामुखसँग च्याट गरी पास गरे झन् राम्रो । यसको हुँदा संसद भवनमा हुने खर्चमा मितव्ययिता हुन्छ । सबैलाई फाइदै फाइदा ।’
विनय शर्माले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘पुनः ओलीले मन्त्री बनाउने आश्वासन दिएजस्तो छ ।’
भोजराज न्यौपाने लेख्छन्, ‘सर ! दुई तिहाईको सरकार छ, किन संसदसम्म पुग्ने हौ ! ढुक्कै घरबाट विधेयक प्रस्तुत, घरबाटै पास । न रहेगा बाँस, न बजेगा बाँसुरी ।’
भट्टराईको ट्वीटमा एनसी घिमिरेले ‘अनलाई सुविधा पनि त छ नि !’ भनेर व्यंग्य गरेका छन् ।
लक्ष्मी भट्ट लेख्छन्, ‘मैले साह्रै मन पराउने अनि भविष्य देखेको नेताको यो कथन पढेर किन हो किन, कतै हामी साँच्चै एकदलीयता तिर जाँदै त होइन भन्ने आभास पो भो त ।’











प्रतिक्रिया दिनुहोस्