अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, माघ ९ । मंगलबार संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच भएको घम्साघम्सीले सरकार र प्रतिपक्षबीचको दूरी झनै बढेको छ ।
संसद बैठकमा मंगलबार भएको घम्साघम्सीपछि सत्ता र प्रतिपक्षले एकार्काप्रति संसदीय मर्यादाविपरीत प्रस्तुत् भएको आरोप लगाएका छन् ।
तर, यसबीचमा सभामुखको भूमिकाप्रति सत्ता र प्रतिपक्ष दुवैले आपत्ति जनाएका छन् ।
बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्नेक्रममा सत्ता र प्रतिपक्षका सांसदहरुबीच भएको घम्साघम्सीका विषयमा दुवैले एकार्कामाथि संसदीय मर्यादाविपरीत काम भएको आरोप लगाएका छन् ।
प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरिएका बेला सभामुख कृष्णबहादुर महराले संसद सन्चालन गर्नुलाई संसदीय प्रक्रिया मिचिएकोरुपमा अर्थ लगाएको छ ।
सामान्यतया संसदमा प्रमुख प्रतिपक्षी दल उभिएको अवस्थालाई संसद बैठक अवरोधकारुपमा व्याख्या गरिन्छ ।
सभामुख कृष्णबहादुर महराले पनि सोमबार प्रतिपक्ष दलका सांसदहरु उभिएको अवस्थालाई नै अवरोध मानेका थिए ।
तर, मंगलबार भने सभामुखले प्रतिपक्ष दलका सांसदले वेल घेराउ गर्दा पनि अवरोध मानेनन् । बरु, चिकित्सा शिक्षा विधेयक अगाडि बढाउँदै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक पेस गर्न रोष्ट्रममा डाके ।
सभामुखको यही कामलाई प्रतिपक्ष दलले संसदीय प्रक्रिया मिचिएकोरुपमा अर्थ्याएको छ ।
कांग्रेसले सत्तापक्षको इसारामा बैठक चलाएर दलहरुप्रति रुझान राखेको आरोप लगाउँदै सभामुखले माफी माग्नुपर्ने जिकिर गरेको छ ।
यता, सत्तापक्षले भने प्रक्रिया पूरा गरेर आएको विधेयकलाई पेस गर्न नदिएर कांग्रेसले संसदीय प्रक्रिया मिचेको आरोप लगाएको छ ।
सत्तापक्षले मन्त्रीलाई संसद बैठकमा कुइनोले घचेट्नु, सभामुखलाई आफ्नो चेम्बरबाट बैठककक्षसम्म आउने बाटो बन्द गर्नु, संसदीय प्रक्रियाविपरीत भएको ठहर गरेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सत्तापक्ष र प्रतिपक्ष दुवैको कमजोरी रहेको टिप्पणी गर्छन् ।
हुन त नेपालको संसदीय अभ्यासमा यसअघि पनि यस्ता घटना नभएका होइनन् । यसअघि पनि चालू संसदमा सभामुख महराले प्रतिपक्ष दलले संसद बहिस्कार गर्दा पनि बैठक सन्चालन गरेका थिए ।
संविधान निर्माणताका तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङको पालामा पनि मधेसकेन्द्रित दलको विरोधका बाबजुद् पनि कयौंपटक संसदले काम–कारबाही अगाडि बढाएको थियो ।









प्रतिक्रिया दिनुहोस्