Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पहिरोले घर पुरिँदा महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध


0
Shares

दुई दिनदेखि लगातार परेको वर्षापछि पहिरोले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिए ।

मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध
अविरल वर्षापछि मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित बूढीखोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवत–जावत नै बन्द गरिएको सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखन्डमा लोहन्द्रा खोलामा रहेको पक्कीपुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।

यस्तै, बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर १५० घर, मुडेरीटोलका १५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् ।

त्यस्तै, रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरीचौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत् प्रहरी छतमा बस्नुपरेको छ ।

रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ ।

सो स्थानका विस्थापित अन्दाजी ७०० घर–परिवारलाई सुरक्षित स्थानतर्फ सार्नेकार्य भइरहेको प्रहरीचौकी इटहराले जनाएको छ ।

यस्तै, धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेका छन् । रासस