Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


रुपनीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, पेस्तोल र गोली बरामद


0
Shares

सप्तरी । सप्तरीको रुपनीमा प्रहरीले गरेको जवाफी कारबाहीमा एक जनाको मृत्यु भएको छ ।

विभिन्न आपराधिक घटनाका आरोपी सप्तरीको कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरीको प्रहरी कारबाहीमा मृत्यु भएको हो ।

नियमित गस्तीका क्रममा राजविराजबाट रुपनी आइरहेको प्रहरीको टोलीमाथि गोली प्रहार भएपछि प्रहरीले जवाफ कारबाही गर्दा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका चौधरीले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारबाही गर्दा उनको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

मोटरसाइकल चालक भने फरार भएको प्रहरीको भनाइ छ । चौधरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।

चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, बिसनपुर चौकीका प्रहरी हब्लदारमाथी गोली प्रहार, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोटलगायतका घटनामा संलग्न रहेको दाबी सप्तरी प्रहरीले गरेको छ ।