जापानमा १० औं नेपाल फेस्टिवलको भब्य तयारी « Imagekhabar – Online News Portal of Nepal


जापानमा १० औं नेपाल फेस्टिवलको भब्य तयारी


0
Shares

सक्रिय सबै सङ्घ, संगठनमा आबद्ध पदाधिकारीलाई जिम्मेवार बनाएपछि टाढिएकाहरु उत्साहका साथ नेपाल फेस्टिवलको प्रचारप्रसार गरिरहेका छन् ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले भदौ १० र ११ गते टोकियोको उएनो पार्कमा १०औँ नेपाल फेस्टिवल हुन लागेको हो ।

मेला आयोजक गैरआवासीय नेपाली सङ्घलाई सक्रिय चार दर्जनभन्दा बढी सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासले पनि सघाएका छन् ।

आयोजकका अनुसार नेपाल फेस्टिवलको तयारीमा जापानवासी नेपाली एकजुट भएर लागेका छन् ।

आयोजक गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान अधिवेशन र नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेकाहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिए पनि उत्साहजनकरुपमा फेस्टिवल सफल बनाउन भन्दै लागिपरेका छन् ।

उनीहरुले टोकियो आसपासका विभिन्न सहरमा जाने पोस्टर पम्प्लेटमार्फत जापानी नागरिकलाई नेपाली वस्तुको पहिचान र पर्यटकीय क्षेत्रबारे जानकारी दिने कामलाई तीव्र पारेका छन् ।

सङ्घका अध्यक्ष सुदन थापाका अनुसार फेस्टिवलमा मौलिक भाषा, कला, संस्कृति र पहिचान तथा स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिक पहिचानको सम्भाव्यतालाई जापानी पर्यटकमार्फत प्रवद्र्धनका लागि गतवर्षभन्दा फरक शैली अपनाइएको हो ।

फेस्टिवलमा कला संस्कृति झल्कने, पर्यटकीयस्थलको जानकारीमूलक, नेपाल चिनाउने पथ प्रदर्शनमूलक, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहने छन् ।

मूल आयोजक समितिका संयोजक देवीलाल भण्डारीले नोक्सानी कम गर्न आर्थिक व्यवस्थापन समितिले भाग्यशाली उपहार कार्यक्रमलगायतका कामलाई पनि तीव्र बनाइएको बताए ।

एक करोड ७० लाख जापानी येन खर्चमध्ये एक करोड जापानी येनको व्यवस्था भइसकेको छ ।

फेस्टिवल व्यवस्थित गर्न भण्डारी, टासीवाङ्दी लामा, उपसंयोजक लेनिन भट्टचन, सरोजकुमार खत्री, बुद्धिराज घिमिरे, पर्शुराम बस्नेत, शिवप्रसाद पौडेल, संगीता अधिकारी, सुनिल शाक्य, जनकविक्रम शाहीलगायत २१ जनाको टोली दिनरात लागिरहेको छ ।

त्यस्तै, दीपक थापाको संयोजकत्वमा आर्थिक, एनआरएनए कान्तो क्षेत्रको संयोजकत्वमा फोहरमैला व्यवस्थापन, इन्दिरा सुजुकीको संयोजकत्वमा अतिथि सत्कार समिति र प्रचारप्रसारको काममा पत्रकार महासङ्घ जापान शाखा पनि सक्रिय छ ।

सांस्कृतिक कार्यक्रमका लागि अमर गुरुङ, अतिथि व्यवस्थापन ओम गुरुङले संयोजक भएर काम गरिरहेका छन् ।

यसपटक नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकगीतमा भुलाउने तयारीका लागि आयोजकले उएनो पार्कको फेस्टिवलस्थलमा मर्मत सम्भार र आवश्यक कार्यलाई तीव्रता दिएका छन् । रासस