Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


राजमार्गमा सयौं सवारी साधनसहित यात्रु अलपत्र


0
Shares

अविरल बर्षाका कारण पथलैया नजिक दुधौरा पुल बाढीले भासिएको छ भने चुरियामाई नजिक सडक पहिरोले पुरिएपछि यातायात ठप्प बनेको छ ।

शनिबार राति ११ बजे पुलको मध्यभागको पिलर भासिएको हो । पुल लच्किएर जोखिम बढेपछि राजमार्गको यातायात ठप्प बनेको हो । पुल भासिएसँगै बारा, पर्सा हुँदै पूर्व क्षेत्र जाने र पूर्वबाट पश्चिम लगायत राजधानी जाने सवारीसाधन रोकिएका छन् ।

खोलामा डाईभर्सन बनाएर यातायात सुचारु बनाउने प्रयास भए पनि पानी निरन्तर परिरहेको र खोलामा बहाब नघटेका कारण सफल हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ ।

बाराकै अमलेखगंजमा पर्ने चुरियामाई नजिकै राजमार्गमा आएको पहिरोले शनिबारदेखि यातायात अवरुद्ध बनेको छ । पथलैया–हेटौडा खण्डमा पर्ने उक्त स्थानमा पहिरोले राजमार्ग थुनिदिएपछि राजधानी र पश्चिम जाने सबै यातायातका सवारी साधन प्रहरीले अमलेखगंज र पथलैयामै रोकेको छ ।

पहिरो गएको स्थानमा ३ डोजरले आईतबार बिहानैदेखि पहिरो पन्छाउने काम गरे पनि सडकसँगै टाँसिएको पहाड भस्कने र लेदो झर्ने क्रम नरोकिदा राजमार्ग खुल्न अझै एक दिन लाग्ने बताइएको छ ।

अविरल बर्षाकै कारण बाराको दर्जनौं गाउँका साना पुल र ग्रेबल बाटो पानीले बगाएपछि सहर र राजमार्गसँग ग्रामीण क्षेत्रको सम्पर्कबिच्छेद बनेको छ । कोहल्बी, लालबकैया लगायतका आधा दर्जन ग्रामीण बजारहरुको राजमार्गसँग सम्पर्क टुटेको छ ।