अक्कल कुँवर र दिलिप पोखरेल (इमेज)
काठमाडौं, माघ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार पनि संसद बैठक अवरुद्ध भयो ।
आफ्ना दुईजना पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल गठनको आदेश नदिएको र अनशनमा रहेका डा. गोविन्द केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै कांग्रेसले अवरोध गरेपछि यही माघ ११ गते बस्नेगरी बैठक स्थगित गरिएको हो ।
सत्तापक्ष र प्रतिपक्षीको अडानले संघीय सदन मुठभेडको अवस्थामा पुगेको छ ।
मंगलबार पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान राखेपछि पटक–पटक बैठक अवरुद्ध भयो ।
सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध गरे ।
सभामुखले प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकाशमान सिंहलाई आफ्नो भनाइ राख्न समय दिएपछि सांसद सिंहले आफ्ना मागहरु पूरा नभएसम्म बैठक चल्न नदिने अडान दोहार्याए ।
लगत्तै कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरे ।
१५ मिनेटका लागि स्थगित संसदको दोस्रो बैठक करिब ३५ मिनेटपछिमात्र सुरु भयो ।
सभामुखले दोस्रो बैठक सुरु गर्नासाथ कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरे ।
रोष्ट्रम घेराउ भइरहँदा सभामुखले कार्यसूचीअनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बहुचर्चित चिकित्सा शिक्षा विधेयक प्रस्तुत् गर्न निर्देशन दिएलगत्तै रोष्ट्रममै शिक्षामन्त्रीसहित सत्तापक्ष र विपक्षी सांसदबीच तनावको अवस्था सिर्जना भयो ।
मन्त्रीसहित दुवैपक्षका सांसदहरुको घम्साघस्सीकैबीच सभामुखले फेरि १५ मिनेट बैठक स्थगित गरे ।
तर, सभामुखसहित सत्तापक्ष र प्रतिपक्षीबीच कुरा नमिलेपछि संसद सचिवालयले ११ गतेसम्मका लागि बैठक स्थगित गरेको छ ।
नेपाली कांग्रेसले संसद बैठकमा उत्पन्न गतिरोधको जिम्मा सभामुख र सत्तापक्षले लिनुपर्ने भन्दै सभामुखको भूमिकामाथि नै प्रश्न उठाएको छ ।
यता, सत्तारुढ दलले भने कांग्रेसले संसदीय मूल्य–मान्यता र संसदीय सर्वोच्चताको खिल्ली उडाएको आरोप लगाएको छ ।
प्रतिपक्षी दलको विरोधका कारण मंगलबार नै चिकित्सा शिक्षा विधेयक संसदमा टेबुल गर्ने सत्तापक्षको प्रयास भने विफल भएको छ ।
मंगलबार संसदमा उत्पन्न भएको गतिरोधलाई सत्तापक्ष र प्रतिपक्षीले ‘इगो’कारुपमा लिएकाले पनि आगामी बैठक पनि तनावपूर्ण हुने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्