१३ जेष्ठ २०८२, मंगलबार | Wed May 28 2025


बेरोजगार भएपछि पाइलटले खोले पेट्रोलपम्प


0
Shares

नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् । पाइलट अध्ययन गर्न ३० वर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे ।

सानैबाट पाइलट बन्ने लक्ष्य राखेका अभयले अस्ट्रेलियाको बासियर एभिएसन कलेजबाट पाइलट कोर्स अध्ययन गरे । सम्पन्न परिवारका अभयले डेढ वर्ष लगाएर अस्ट्रेलियाबाट पाइलट कोर्स अध्ययन गरी नागरिक उड्डयन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन पाएनन् ।

अभयले सन् २००८ मा पाइलट कोर्स पढेर फर्कदा नेपाली ध्वजावाहक नेपाल एयरलाइन्स बन्द प्रायः थियो । नेपाल एयरलाइन्सका जहाज बिग्रेर थन्किएका थिए । बुद्ध र यतीमा जागिर खाने प्रयास गरे पनि अभयले सकेनन् ।

पाइलटको लाइसेन्स अवधि ६ महिनामात्रै हुने गरेको छ । जागिर खोज्दा खोज्दै उनको ६ महिना अवधि सकिहाल्यो ।

आफूले हासिल गरेको सीप व्यवहारमा उतार्न नपाएपछि उनलाई फ्रस्टेसनसमेत भयो । मन बुझाउन उनले व्यवसायमा हात हाले ।

६ वर्षदेखि उनले नेपालगञ्जको वीपी चोकनजिक भेरी प्राविधिक शिक्षालयको प्रवेशद्वारमै कुसुम फिलिङ सेन्टर नामको पेट्रोल पम्प सञ्चालन गरेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट