दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाई र कारवाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुका साटो झन् झन बढ्दै गएको हो ।
रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा १ सय २० वटा सवारी दुर्घटनामा परी ८३ जनाले ज्यान गुमाउनुका साथै १ सय १७ जना घाइते भएका थिए ।
त्यस्तै आर्थिक वर्ष ०७२/०७३ मा १ सय ८४ वटा सवारी दुर्घटनामा परी १ सय ११ जनाको मृत्यु भयो भने २ सय ४९ जना घाइते भएका थिए ।
त्यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा २ सय ४८ वटा दुर्घटनामा परी १ सय २५ जनाले ज्यान गुमाए भने र २ सय ९० जना घाइते भएका छन् ।
यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुने संख्या पनि बढ्दो छ । ठुला सवारी साधन भन्दा पनि साना सवारी साधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ ।
पछिल्लो समय बढ्दो सवारी चाप, साँघुरो बाटो, क्षमता भन्दा बढी यात्रु बाक्ने, सडक निर्माणको अवस्था जीर्ण बन्दै जानु तथा हेलमेट तथा लेनको राम्रो प्रयोग गर्न नजान्नुले दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरिक्षक दक्षकुमार बस्नेत बताउँछन् ।
हाल सम्मकै तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ ।
आर्थिक बर्ष २०७३/७४ मा १ सय ९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार-जिप ४७, बस ३८, रिक्सा, साईकल तथा ठेला २१, ट्याम्पो ४ र अन्य ६ वटा गरी २ सय ४८ वटा दुर्घटना भएका हुन ।
चालकको गल्तीका कारण हुने सवारी दुर्घटनालाई कमी ल्याउनका लागि बेला बेलामा चालकहरुलाई परिवर्तित नियम कानुनका बिषयमा तालिम तथा प्रशिक्षणका कार्यक्रम गरिएको लुम्बिनी यातायात व्यवसायी संघका महासचिव रुमाखर गौतम बताउँछन् ।
रुपन्देहीमा यस बर्ष भएका सवारी दुर्घटनाको कारक तत्वको रुपमा निर्माणाधिन सिक्सलेन सडक पनि हो ।
सडक निर्माणका नाममा पिच बाटो भत्काउँदै छाड्दै गरेकाले पनि दुर्घटना बढेको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्