Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


गृहमन्त्री विमानस्थलको निरीक्षणमा, बाढी प्रभावितलाई प्राथमिकता दिन निर्देशन


0
Shares

विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पुर्‍याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ र थप भन्नेबारेमा स्थलगत निरीक्षण गरेका हुन् ।

रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिनुभएको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सो अवसरमा गृहमन्त्री शर्माले राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुलाई विशेष प्राथमिकतामा राख्न तथा बढी प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले राहत वितरणमा पक्षपात हुन नदिन तथा प्रभावित नागरिक छुट्ने र प्रभावित नभएकाले राहत पाउने अवस्था आउन नदिन समेत विशेष ख्याल गर्न आग्रह गरे ।

गृहमन्त्री शर्मासँगै गृहसचिव लोकदर्शन रेग्मी, प्रवक्ता रामकृष्ण सुवेदी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेना, हवाई सेवा निर्देशनालय तथा निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिलगायतको सहभागिता थियो ।

आइतबार र सोमबार गृहमन्त्री शर्मालगायतको टोली पश्चिम, मध्य तथा पूर्वका बाढी, पहिरो, डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किएको हो । रासस