अविरल वर्षापछि केसलिया खोलाको बाढी पस्दा गत शुक्रबारदेखि विराटनगर विमानस्थल अवरुद्ध बनेको हो । एक सातादेखि विमानस्थल अवरुद्ध हुँदा यात्रीलाई समस्या भएको छ ।
टिकट रद्द गरेर यात्रीहरु गाडीमा आवत–जावत गर्न बाध्य छन् । वर्षासँगै आएको बाढीले विमानस्थलमा एक फिट हिलो जम्मा भएको छ । अहिले विमानस्थलमा जमेको हिलो सफा गर्ने काम भइरहेको छ ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित केसलिया खोलाले सिँचाइको बाँध भत्काएर विराटनगरमा छिरेको पानीले विमानस्थललाई पनि जलमग्न पारेको थियो ।
अविरल वर्षा रोकिएसँगै विमानस्थलमा जमेको पानी सुके पनि हिलो भने त्यहीँ बसेको थियो । विमानस्थलको रनवे, ट्याक्सीवे, टर्मिनल भवन र सुरक्षाकर्मीको ब्यारेकमा चार फिटसम्म पानी जमेको थियो ।
हिलो सफा गर्ने काम अन्तिम चरणमा पुगेकाले शनिबारदेखि विमानस्थल सुचारु गर्ने तयारी भएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंह बताउँछन् ।
विमानस्थल सफा गर्न सेना र प्रहरी रातदिन नभनी अहिले जुटिरहेका छन् । काठमाडौंबाट आएको सेनाको स्पेसल टाक्स फोर्स, इटहरी, हिले र विराटनगर विमानस्थलमा रहेको सेनाको टोली पनि विराटनगर विमानस्थलमा जमेको हिलो हटाउन जुटेका छन् ।
‘म्यानुअली’मात्रै रनवेको सफाइ गर्दा धेरै समय लाग्ने भएपछि मंगलबारदेखि जेसीबी, ग्रेडर, बोल्डर र हिलो फयाक्ने ट्याक्टरको प्रयोग भइरहेको विमानस्थलले जनाएको छ ।
विमानस्थल अवरुद्ध हुँदा सयौं यात्री प्रभावित भएका छन् । विराटनगरबाट बुद्ध, यती, सौर्य, नेपाल एअरलाइन्स, श्रीअयरलाइनस, तारा एअरलगायतलका एअरलायन्सहरुले काठमाडौं–विराटनगरको रुटमा दैनिक उडान भर्दै आएका थिए ।
काठमाडौंपछि विमान बढी उडान र अवतरण हुने विराटनगर विमानस्थल बाढीका कारण अवरुद्ध भएपछि आकाशमार्गबाट यात्रा गर्ने यात्रीहरु बिचल्लीमा परेका हुन् ।
त्यस्तै, परीक्षण उडानका लागि विराटनगर पुगेको श्रीएअरको विमान वर्षा र बाढीका कारण विमानस्थलमै फसेको छ ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्