
उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है ।’
धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे ।
चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला,’ उनले नेपालीमा भने ।
चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।’
सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् ।
सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।
उनले क्षुब्ध हुँदै ‘ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ?’ भनिन् । चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेर्स्याउँदै जवाफ दियो, ‘हुन्छ, ल मेरैबाट गर्नोस् न !’
‘हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला !’ सांसद मगर भन्दै थिइन् ।
यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ । ‘मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुज्रुकले भनेको सुनें– यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।’ –अन्नपूर्ण पोस्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्