Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


भारतबाट फेरि अर्काे एकसिङे गैंडाको उद्धार गरी चितवन ल्याइयो


0
Shares

बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्‍याएको वयस्क गैंडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपुर्‍याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

उनकाअनुसार सोमबार साँझ ‘डार्ट’ गरेर नियन्त्रणमा लिइएको गैंडालाई मंगलबार बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैंडा हो ।

बाढीले चितवन निकुञ्जबाट चारओटा गैंडालाई बगाएर भारत पुर्‍याएकोमा तीनओटाको उद्धार भएको छ भने एउटा बच्चा गैंडाको उद्धारका लागि मंगलबार पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

यसअघि गत आइतबार र साउन २ गते गरेर दुईओटा गैंडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ ।

प्राविधिकहरुले बन्दुकमार्फत् डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गैंडालाई ल्याउँछन् ।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झन्डै ५० जनाको टोली गैंडाको उद्धारमा खटिएका छन् । पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गैंडा रहेको तथ्यांक छ ।

उक्त गैंडामध्ये बर्दिया र शुक्लाफाँटामा एक दर्जनभन्दा बढी गैंडा स्थानान्तरण भइसकेका छन् ।

बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गैंडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ । रासस