Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


गणेश चतुर्थी पर्व मनाइँदै, मिथिला क्षेत्रका महिलाहरु चौरचन व्रत बस्दै


0
Shares

तीजको व्रत समापन गरेको भोलिपल्ट गणेशको व्रत बस्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज मध्यान्न ऋद्धि, सिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने गरिन्छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ ।

आज काठमाडौंका अशोक विनायक, जल विनायक, भक्तपुरको सूर्यविनायक, कमलविनायकलगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लागेको छ ।

नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई भटमास, मकै आदि भुटेका गेडागुडी अर्थात ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।

उता, मिथिला क्षेत्रका महिलाले आज चौरचन पर्व मनाउँदै छन् । भाद्र शुक्ल पक्षको चौथीका दिन मनाइने यो पर्वमा व्रतालुले आज दिनभर निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्ने गर्दछन् ।

खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ ।

हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलपूmल डालीमा राखेर चन्द्रमामा देखाएपछि दोष मेटिने महिलाहरु बताउँछन् ।

भाद्र शुक्लपक्षको चौथीका दिन विशेष विधिपूर्वक चन्द्रमालाई फलपूmल र मिष्ठान्न परिकार देखाएर यो व्रत बस्दा अनाहक दोषबाट बचिने जनविश्वास छ ।

साँझ चन्द्रमालाई खिर, पुरीसहितका मिष्ठान्न परिकार, दही, केराका घरी र अन्य फलपूmल देखाएर अघ्र्य दिएपछि यो पर्व समापन गरिन्छ । मिथिलामा मनाइने पर्वहरुमध्ये यो पर्व पनि प्रमुख रहेको छ ।