Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सार्वजनिक जग्गा अतिक्रमण गर्दा भासियो अरनिको राजमार्ग


0
Shares

खोला थुनेर जग्गा सम्याउने व्यक्तिको स्वार्थका कारण दैनिक हजारौँ सवारी साधन गुड्ने एकमात्र पूर्वी नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेँमा आज सडक भासिएको हो ।

स्थानीयवासी प्रकाश जोशीले सार्वजनिक जग्गा अतिक्रमण गरी नियमित रुपमा बग्दै आएको खोला थुनेर आफ्नो जग्गा सम्याउँदा सडक नै भत्किएको सूर्यविनायक नगरपालिका वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिए ।

उनले भने, ‘खोलाको बहाव नै बन्द गरेर सानो ह्युमपाइप राखेर निकास दिई जग्गा सम्याउँदा स्थानीयको विरोध आएपछि मैले वडा कार्यालयमै बोलाएर नियमविपरीत काम नगर्न र तत्काल खोला थुनेर जग्गा सम्याउने कार्य रोक्न निर्देशन दिँदा पनि जोशीले अटेर गरे, त्यसको परिणाम अरनिको राजमार्ग नै भत्कियो ।’

स्थानीय बासिन्दाका अनुसार सार्वजनिक जग्गासमेत अतिक्रमण गरी जोशीले व्यापारिक प्रयोजनका लागि खोला थुनेर जग्गा सम्याउँदा बिहीबार परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला फुटाएर सडक भत्काएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीले जोशीलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जोशीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई बुझाइएको बताए ।

सडक भत्किएपछि आज बिहानदेखि प्रहरीले त्यस क्षेत्रमा एकतर्फी रुपमा यातायात सन्चालन गराएको छ । सडक भत्किएपछि आज जिल्लास्थित सरकारी कार्यालय र सडक कार्यालयको टोलीले सडकको अनुगमन गरेको थियो । रासस