अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि अन्धकारमय बनेको पर्यटकीय नगरी लुम्बिनी अहिले सम्म पनि अन्धकारमय छ ।
लुम्बिनी आसपासका क्षेत्रहरुमा वैकल्पिक वितरण केन्द्रबाट बिजुली पु¥याइएको पनि पर्यटकीय क्षेत्र भने अन्धकार छ ।
लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमभीएको ट्रान्सफर्मरबाट ८ एमभीए विद्युत् वितरण हुँदै आएको थियो ।
ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पड्किएको थियो । ट्रान्सफर्मर पड्किएलगत्तै अर्को ट्रान्सफर्मर जडान नहुँदा लामो समय लुम्बिनी बिजुलीविहीन बनेको छ ।
बिजुली नहँुदा पर्यटकीय क्षेत्र अस्तव्यस्त बनेको र लुम्बिनीको सौन्दर्यता समेत हराएको पर्यटन व्यवसायी प्रकाश भट्टराईको भनाई छ ।
उनले रातिको समयमा लाईन नआउदा आफुहरुले दैनिक जेनेरेटर चलाएर आफ्नो व्यवसाय सञ्चालन गर्न बाध्य भएको बताए ।
विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले लुम्बिनीमा दिर्घकालीन रुपमा लोडसेडिङ मुक्त गर्न १६ एमभिएको ट्रान्सफर्मर आवश्यक रहेको र उक्त ट्रान्सफर्मर जडानका लागि पहल सुरु गरिएको बताए ।
‘१६ एमभीएको ट्रान्सफर्मर जडानका लागि प्रक्रिया अगाडि बढाएका छौं,’उनले भने,‘उक्त ट्रान्सफर्मर जडान हुनका लागि कम्तीमा ६ महिना देखि १ वर्षसम्म लाग्ने अनुमान गरेका छौँ ।’
तत्काललाई समस्या समाधान गर्न ७.५ एमभीएको ट्रान्सफर्मर जडान गर्न लागिएको उनले बताए ।
लुम्बिनी क्षेत्रमा हाल १८ हजार विद्युत्का ग्राहक छन् । लुम्बिनीको ट्रान्सफर्मर जलेपछि हाल योमध्ये रुद्रपुर क्षेत्रमा अमुवा र कक्रहवा क्षेत्रतर्फ मर्चवारबाट बिजुली दिइएको छ ।
लुम्बिनीमा कपिलवस्तुबाट बिजुली दिइएको छ । कपिलवस्तुले दिउँसोमा मात्र बिजुली दिएकोले साँझदेखि बिहानसम्म लुम्बिनीका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा विद्युत छैन ।
जसका कारण रातीको समयमा लुम्बिनी घुम्न मन पराउने पर्यटकलाई खल्लो महसुस गरेको पर्यटक व्यवसायिले गुनासो गरेका छन् ।
प्रयाप्त बिद्युतको व्यवस्था नहुदा लुम्बिनी बिकास कोषको नियमित काममा समेत समस्या उब्जीएको कोष प्रशासन जनाएको छ । लुम्बिनीमा महिनै पिच्छे यस्ता खालका समस्या आउने गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्