प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो ।
सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ ।
प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनःनिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो ।
प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६० मा निर्माण गरेको सिंहदरबार पछि सरकारले किनेको थियो ।
राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो ।
विसं २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनःनिर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ । रासस










प्रतिक्रिया दिनुहोस्