Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


भारतले गन्डक नहरमा पानी दिन छाड्यो, जलविद्युत् उत्पादन प्रभावित (भिडियोसहित)


0
Shares

पानी नहुँदा गन्डक जलविद्युत्गृहको उत्पादन पनि प्रभावित भएको छ ।

भारतीय पक्षले नहरमा निर्माण गरिएको कुलो र स्थानीय खोला सफा नगर्दा डुबानमा परेको भन्दै नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर–१ र २ का स्थानीयले दुई साताअघि पश्चिम नहरमा रहेको बाँधको डिल काटेका हुन् । जसका कारण भारतले उक्त नहरमा पानी बन्द गरेको हो ।

पश्चिम नहरबाट गएको पानीले गुठीसुरजपूरामा रहेको गन्डक जलविद्युत केन्द्रमा विद्युत् उत्पादन हुने गर्छ । १५ मेगावाट विद्युत् उत्पादन हुने केन्द्रमा अहिले ७ मेगावाटमात्र विद्युत् उत्पादन हुँदै आएको छ ।

विद्युत् उत्पादनसँगै नहरबाट जाने पानीले पर्सा हुँदै भारतको बिहारमा सिँचाइ हुने गर्दछ । उत्पादन हुने विद्युत् नेपालले उपभोग गर्दै आएको छ ।

स्थानीय राइपुरवा खोलाका कारण सुस्ताको धेरै भूभाग डुबानमा पर्ने गरेको छ । डुबानबाट भएको क्षतिपूर्ति नपाएसम्म नहरको डिल पुर्न नदिने स्थानीयले अडान लिएका छन् ।

स्थानीयको अवरोधका कारण भारतले पानी नदिँदा दुई सातादेखि जलविद्युत्गृहमा विद्युत् उत्पादन बन्द भएको छ ।

पानीको निकास नै नहर भएको र भारतले समयमा सफा नगर्दा हरेक वर्ष समस्या आउने गरेको छ । जसका कारण नवलपरासी दक्षिण क्षेत्रका २० बढी गाउँ डुबानमा पर्दै आएका छन् ।

स्थानीयको अवरोधले अहिले नहरमा पानी बन्द भएको र कुलो तथा केही स्थानमा नयाँ ‘साइफन’ बनाउन भारतीय अधिकारीहरुलाई पत्रचार गरेको भारत, बिहारस्थित गन्डक भूआर्जन जनसम्पर्क कार्यालय बाल्मिकीनगरका जनसम्पर्क अधिकारी सञ्जय मिश्रले जानकारी दिए ।

पानी निकासका लागि गाउँमा निर्माण गरिएको कुलो सफा नगर्दा खोलामा आएको बाढीले डुबानमा परेको भन्दै आक्रोशित गाउँलेहरुले दुई–दुईपटक पश्चिम नहरको बाँध काटेका हुन् । त्यसक्रममा उनीहरुले बाँधको डिल काटेर कुलो बनाएका छन् ।

भारतले २५ वर्षदेखि दिने भनेको क्षतिपूर्तिसमेत नदिएको र अहिलेको क्षतिसहितको रकम नदिए नहरमा पानी आउन नदिने चेतावनी स्थानीयले दिएका छन् ।

पहिलोपटक नहर भत्काउन आएका स्थानीयका माग पूरा गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा भारतीय पक्षसँग बैठक बसेको थियो ।

सो बैठकमा डुबानले पुर्‍याएको बालीको क्षतिपूर्ति दिने सहमति गरेपनि भारतले नदिएको भन्दै स्थानीयहरुले पुनः बाँधको डिल काटेका हुन् ।

भिडियो हेर्नुहोस्