Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढीले बगाएर लगेका भारतमा अझै कम्तीमा पाँच गैंडा


0
Shares

रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारकाअनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैंडा पुगेका छन् ।

रिजर्भबाट बिहीबार सातौं गैंडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउनेक्रममा सँगै आएका अमितकुमारले कम्तीमा पाँचओटा गैंडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिए ।

उनकाअनुसार सीमा क्षेत्रबाट करिब ७० किमि पर उत्तर प्रदेशको पिप्रासीमा एउटा, वाल्मीकि नगर क्षेत्रमा दुईओटा, सीमाबाट ४० किमि पर मदनपुरमा अर्काे एउटा गैंडा भेटिएको छ ।

यसबाहेक नेपालको नर्सहीबाट गन्डक नहर पार गरेर दुईओटा गैंडा भारततर्फ पुगेका छन् भने अन्य स्थानमा पनि गैंडा भएको हुनसक्ने उनले बताए ।

ती दुई गैंडा भने सीमा वारपार गरिरहेका छन् । तीबाहेक नै कम्तीमा पाँच गैंडा भारतमा रहेको अनुमान गरिएको छ ।

ती गैंडालाई २०० सुरक्षाकर्मी र कर्मचारीले सुरक्षा दिइरहेका छन् । उनकाअनुसार २० ओटा गाडी, दुईजना डिपुटी डाइरेक्टर र पाँचजना रेञ्जर गैंडाको सुरक्षामा खटिएका छन् ।

उनले भने–‘संरक्षणको क्षेत्रमा इतिहासमा पहिलोपटक नेपाल र भारतको संयुक्त प्रयासमा यो काम भइरहेको छ ।’

गैंडा नियन्त्रणमा लिन अरु १५० जना भारतीय कर्मचारी र सुरक्षाकर्मी दिनहुँ खट्ने गरेको पनि उनले बताए ।

रिजर्भका अन्य क्षेत्रमा पनि गैंडा रहेको आशंकामा खोजीकार्यलाई तीव्रता दिइएको छ ।

एक दिन भारततर्फ देखिने र अर्काे दिन नेपालतर्फ आइपुग्ने हुँदा यकिन कति गैंडा भारतमा छन् भन्न नसकिएको पनि अमित कुमारले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलकाअनुसार बिहीबार एउटा पूर्ण वयस्क पोथी गैंडा निकुञ्जमा ल्याइएको छ । वाल्मीकि टाइगर रिजर्भमा डार्ट गरेर उक्त गैंडा ल्याइएको हो ।

यो गैंडासहित भारतबाट उद्धार गरी ल्याइएका गैंडाको संख्या सात पुगेको छ । नेपाल–भारतको सिमानाभन्दा १५ किमि टाढा भारतको भेडीपारिमा पुगेको गैंडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

गैंडाको उद्धारका लागि तीनओटा हात्तीसहित ३० जना नेपाली प्राविधिक टोली परिचालन गरिएको छ ।

वाल्मीकि टाइगर रिजर्भ नेपाली सीमा क्षेत्रको भारतको आरक्ष हो, जहाँ दुर्लभ वन्यजन्तु गैंडा भने पाइँदैनन् । वनको संरचनाको हिसाबले त्यो ठाउँ गैंडाका लागि उपयुक्त मानिँदैन ।

बाढीपछिको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० ओटा गैंडाको उद्धार गरिएको छ । जसमध्ये सात भारतबाट र तीन नेपालका त्रिवेणी क्षेत्रबाट उद्धार गरिएको हो । बाढीकै कारण दुईओटा गैंडा मृतावस्थामा भेटिएका थिए ।

चितवन निकुञ्जको आसपास हुँदै बग्ने राप्ती, रियु र नारायणी नदीले गैंडालाई बगाएको थियो ।

उद्धार गरिएका गैंडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट छाडिएको छ ।