
काठमाडौं, असार १८ । विवेकशील साझा पार्टीले मानव अधिकार, सामाजिक न्याय, समावेशिता, तथा मानव मर्यादालाई केन्द्र विन्दुमा राखेर अन्तरकृयात्मक कार्यक्रम ‘समता संवाद श्रृंखला’ संचालनमा ल्याएको छ ।
पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले सुरु गरेको अन्तरकृया शृंखलामा समानता,सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे मासिक अन्तरकृयात्मक वहस सुरु गरिएको विभागको प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए ।
श्रृंखलाको पहिलो प्रस्तुती प्रख्यात पुरस्कार “फ्रीडम फ्रम फियर” अवार्डबाट हालै सम्मानित उर्मिला चौधरीलाई मुख्य वक्ताका रुपमा प्रस्तुत गरेर शनिवारवाट आरम्भ गरिएको छ ।
समता संवादमा आफ्नो प्रस्तुती राख्दै सामाजिक अभियानकर्ता चौधरीले ११ वर्षको उमेरबाट कमलरी जीवनमा भोग्नु परेको हिंसा, दमन, विभेददेखि दासता मुक्ति आन्दोलनमा खेलेको भूमिकावारेवारे आफ्ना अनुभव, भोगाई, सिकाई तथा प्रेरणादायी विचारहरू पस्किइन् ।
समानताको लडाई सकिएको छैन, असमानता, विभेद र विकृति विरुद्ध खुलेर वोल्न,सकृयता देखाउन र अभियान संचालन गर्न तपाई हामी एक जुट हुनै पर्छ, चौधरीको भनाई थियो ।
समारोहमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले समनता विनाको समृद्धि दिगो हुन नसक्ने भन्दै सामाजिक न्याय र समावेशितालाई पार्टीको मुटु भएको संज्ञा दिए ।
अर्का संयोजक उज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए ।
अन्तरकृयालाई पार्टी केन्द्रीय सदस्य रेशु अर्याल ढुंगाना र समता अभियानकर्ता प्रतिक क्षेत्रीले सहजीकरण गरेका थिए ।
अन्तरकृयात्मक कार्यक्रम “समता संवाद श्रृंखला”को अर्को प्रस्तुती साउन दोश्रो साता हुने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्