Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


निर्वाचनका लागि महोत्तरीका १० वटा सडक सेनाद्वारा मर्मत हुँदै


0
Shares

साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन बढी नदीमा आएको बाढीले महोत्तरीको सडक बगाएको तथा तोडफोड गरी सवारीसाधन चल्न नसक्ने बनाएको बेला स्थानीय तहको निर्वाचन प्रभावित हुनसक्ने देखिएपछि नेपाली सेना शुक्रबारदेखि यहाँका सडकको मर्मत सम्भारमा जुटेको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–९ परिकौलीस्थित नेपाली सेनाको फस्ट रैफल गणका चारवटा छुट्टाछुट्टै टोलीले जिल्लाको बाढीबाट क्षतिग्रस्त भएका १० वटा सडकको मर्मत सम्भारको कार्य शुरु गरेको गणपति कृष्ण खड्का क्षेत्रीले बताए ।

सेनाले जिल्लाको मरुवाही–हलखोरी–मनरा–साँढा, बखरी–अनकार–चकवा, रौजा–अध्यानपुर, सोनमा–वीरेन्द्रबजार–लक्ष्मिनियाँ, लेऊरी–बनौटा, सुगा–मसुरपट्टी–पिगौना, अजगेवा–जिवछीखोला, मटिहानी–पिपरा, भंगहा–महदैया तपनपुर र खयरमारा गरी १० वटा सडकखण्डको मर्मत सम्भारको कार्य शुरु गरेको हो ।

निर्वाचन र मतदानका बेला निर्वाचन सामग्री मतदानस्थल र निर्वाचन केन्द्रसम्म पुर्‍याउन र मतदातालाई सहजरुपमा आउनजान कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ सेनाले जिल्लाका विभिन्न १० वटा क्षतिग्रस्त बाटा मर्मत गर्न लागेका छन् ।

नेपाली सेनाले क्षतिग्रस्त प्रत्येक सडकमा आवश्यक जनशक्ति लगाएर चारचक्के गाडी जान आउन सक्ने गरी मर्मत सम्भार थालेका छन् भने मतदान हुने दिन अघि नै सबै सडकखण्डको मर्मत कार्य सक्ने गणपति क्षेत्रीले बताए । (रासस)